यत्रो मान्छे, मान्छेको खानेकुरा, मान्छेको सुटकेस, मान्छेले फाल्ने फोहोर र जहाजभित्र आवश्यक असंख्य सामग्री बोकेर चालिस हजार फिटमाथि आकाशमा चरा झैँ तैरिँदै उडिरहेको जहाजलाई हेर्दा विज्ञानको अद्भुत चमत्कारप्रति मन श्रद्धाले भरिन्छ । तल नजर पुग्दा कपासको थुप्रो जस्ता सेता बादलहरूको साम्राज्य मात्र देखिन्छ । मानौँ, पृथ्वीभन्दा माथि अर्को संसार फैलिएको होस् ।
विसं २०८२ चैत ३० अर्थात् १३ अप्रिल २०२६ । नयाँ वर्ष आउन केही घण्टा मात्र बाँकी थियो । दिदीहरू हेमा र भगवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगमन क्षेत्र बाहिरसम्म आएर बिदाइ गरिसक्नुभएको थियो । अध्यागमन र सुरक्षा जाँच सकिँदा साँझको ३ः४५ बजिसकेको थियो । हाम्रो पहिलो उडान इण्डियन एयरलाइन्सको एआई–१०५ मार्फत बेलुकी ५ः३० बजे काठमाडौंबाट नयाँ दिल्लीका लागि तय भएको थियो । अबको सवा घण्टा म र मेरी सहयात्री इन्दिरा जहाजको प्रतीक्षामा थियौँ ।
फोनमा शुभकामनाको क्रम चलिरहेको थियो । गणेशजीले सकुशल यात्राको शुभकामना दिनुभयो । इन्दिराका बहिनीहरू र साथीभाइहरूले पनि लगातार फोन गरेर शुभयात्रा भनिरहेका थिए ।
अमेरिका यात्रा मेरो दोस्रो र इन्दिराको तेस्रो थियो । त्यहीँ प्रतीक्षालयमा अठार–उन्नाइस वर्ष उमेरका केही युवाहरू काँधमा नेपालको झण्डा ओढेर बसेका थिए । उनीहरूलाई देख्दा मलाई खेलाडीको टोली जस्तो लाग्यो । मैले सोधें, “तपाईंहरू खेलाडी हो ?”
एकजना युवक मुस्कुराउँदै बोले, “हैन अंकल, जापान पढ्न जान लागेको । पढ्न त के भनौँ, काम गर्न ।”
त्यो उत्तरले मनभित्र कताकता चसक्क बनायो । आजकल एयरपोर्टमा देखिने अधिकांश युवा सपना बोकेर विदेश उडिरहेका छन् । उनीहरूको आँखामा आशा पनि हुन्छ, बाध्यता पनि । देशभित्र बढ्दो बेरोजगारी, अनिश्चित भविष्य, भ्रष्टाचार र अवसरको अभावले युवा पुस्तालाई विदेशिन बाध्य बनाइरहेको छ । गाउँका आँगन सिस्नोले ढाकिएका छन्, बारीका पाटामा बाँदर र दुम्सी कुदिरहेका छन् । विद्यार्थी छैनन्, तर गाउँमा ठूला–ठूला विद्यालय भवन ठडिएका छन् । समयसँग तालमेल नमिल्दा देश विकासको दौडमा पछाडि परेको अनुभूति झन् गहिरिँदै जान्छ ।
समय ५ः१० बजेको थियो । बोर्डिङ पास जाँच भएपछि हामी जहाजतर्फ लाग्यौँ । बस चढ्ने क्रममा एकजना महिला अमेरिकाबाट आएको छोरासँग फोनमा कुरा गर्दै ह्याण्ड क्यारी घिसारिरहनुभएको थियो । कुराकानीकै क्रममा उहाँ पनि अमेरिका जाँदै हुनुहुँदो रहेछ भन्ने थाहा भयो । केहीबेरमै अर्को वृद्ध दम्पतीसँग पनि चिनजान भयो । उनीहरू पनि उहीँ गन्तव्यतर्फ जाँदै रहेछन् ।
जहाजभित्र मेरो सिट ७ बी र इन्दिराको ७ डी परेको थियो । बीचमा अर्को यात्रु थिए । हामीले सिट साटिदिन अनुरोध गर्यौँ । सुरुमा नमान्ने जस्ता देखिएका एकजना वृद्ध विदेशी यात्रुले मुस्कुराउँदै “नो प्रब्लेम” भनेपछि हामी सँगै बस्न पायौँ । जहाजले काठमाडौं छाड्यो र करिब एक घण्टा पच्चिस मिनेटपछि हामी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यौँ ।
एयरपोर्टमा एउटा नयाँ अनुभव भयो—ह्वीलचेयर सेवा । हामीसँग यात्रा गरिरहेका पाँचजनामध्ये चारजनाको टिकटमा ह्वीलचेयर सुविधा समावेश थियो । त्यो सुविधा केवल शारीरिक अशक्तताका लागि मात्र नभई भाषा, प्रक्रियागत झन्झट र एयरपोर्टको लामो दूरी पार गर्न सहज बनाउन पनि प्रयोग गरिँदो रहेछ । कर्मचारीहरूले अध्यागमनदेखि सामान बुझाउनेसम्म सबै प्रक्रिया गराइदिने रहेछन् ।
तर त्यहीँ सेवा प्रयोग गर्दा अर्को यथार्थ पनि देखियो । कतिपय कर्मचारीहरूले एकान्त पर्खेर “टिप्स” मागिरहेका थिए । गुरागाईं दिदीले भनिरहनुभएको थियो, “सरकारले टिप्स नदिनू भन्छ, तर उनीहरू आफैं माग्छन् ।”
हामी नयाँ दिल्ली विमानस्थलको गेट नम्बर २६ अगाडि रातभरजस्तै प्रतीक्षा गर्दै बस्यौँ । ठिमेली आमा बर्को ओढेर निदाउनुभयो । ठिमेली बा घरी बिस्कुट, घरी पानी ल्याएर हामीलाई खुवाइरहनुभएको थियो । रात गहिरिँदै थियो । एयरपोर्ट झन् व्यस्त हुँदै गइरहेको थियो ।
रातको ११ बजेपछि अमेरिकातर्फको अर्को उडानका लागि बोर्डिङ सुरु भयो । नयाँ वर्ष २०८३ को सुरुवातसँगै हामी इण्डियन एयरलाइन्सको एआई–२२० जहाजमा चढ्यौँ । फेरि पनि हाम्रो सिट सँगै थिएन । तर एयर होस्टेसको सहयोगले अन्ततः हामी एउटै पंक्तिमा बस्न सफल भयौँ ।
मध्य एसियामा बढेको तनावका कारण जहाजले सामान्य रुट परिवर्तन गर्नुपरेको थियो । त्यसैले दिल्लीबाट सीधै अमेरिका नगई रोम हुँदै यात्रा गर्नुपरेको थियो । राजस्थान, गुजरात, अरब सागर, ओमान, यमन, लाल सागर, इजिप्ट र भूमध्य सागरमाथिको आकाश हुँदै हामी इटालीको रोम पुग्यौँ । त्यहाँ इन्धन भर्ने र चालकदल परिवर्तन गर्ने क्रममा जहाज डेढ घण्टा रोकियो ।
उडानका क्रममा जहाज कहिलेकाहीँ कच्ची सडकमा गुडेजस्तो हल्लिन्थ्यो । स्पिकरबाट आउने मधुर हिन्दी स्वरले बारम्बार चेतावनी दिइरहेको थियो—“कृपया आफ्नो सिट बेल्ट बाँधेर बस्नुहोस् । खराब मौसमका कारण जहाज हल्लिन सक्छ ।”
रोमबाट पुनः यात्रा सुरु भयो । फ्रान्स, बेलायत, उत्तर एटलान्टिक सागर र ल्याब्राडोर सागरमाथि हुँदै अमेरिका पुग्ने लामो उडान थियो । जहाजभित्र एकजना महिला आफ्नो सानो बच्चालाई सान्त्वना दिन लगातार काखमा बोकेर हिँडिरहनुभएको थियो । बच्चा रोइरहेको थियो । त्यो दृश्यले आमाको संघर्ष र ममता दुवैलाई नजिकबाट महसुस गरायो ।
अन्ततः अमेरिकन समयअनुसार १४ अप्रिल २०२६ को मध्यान्ह १२ः४६ बजे जहाज अमेरिकाको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । निर्धारित समयभन्दा झन्डै पौने चार घण्टा ढिलो भए पनि हामी सकुशल गन्तव्यमा पुगेका थियौँ ।
त्यहाँ फेरि ह्वीलचेयरको लामो लाइन थियो । अधिकांश यात्रु भारतीय थिए । हेर्दा शारीरिकभन्दा भाषागत असहजताका कारण धेरैले त्यो सेवा लिएको जस्तो लाग्थ्यो । अध्यागमनमा महिला कर्मचारीले अङ्ग्रेजीमा धेरै प्रश्न गरिन्—कति समय बस्ने, कहाँ बस्ने आदि । हामीले उत्तर दियौँ । उनले मुस्कुराउँदै “बाइ–बाइ” भनिन् । त्यो शब्दले अनौठो अपनापनको अनुभूति गरायो ।
भन्सार र सुरक्षा प्रक्रिया पूरा भएपछि हामी तल झर्यौँ । केहीबेरपछि सुटकेस पनि आयो । बाहिर निस्कँदा ज्वाइँ अजित घण्टौँदेखि प्रतीक्षामा हुनुहुँदो रहेछ । ह्वीलचेयर धकेल्ने कर्मचारीले फेरि टिप्स माग्यो । अन्ततः अनलाइनमार्फत पैसा तिरेर हामी एयरपोर्ट बाहिरियौँ ।
यसरी काठमाडौंदेखि नेवार्कसम्मको यात्रामा आकाशमा मात्र करिब १७ घण्टा बितेछ । एयरपोर्टको पर्खाइ जोड्दा यात्रा २६ घण्टाभन्दा लामो भयो । तर त्यो यात्रा केवल दूरी पार गर्ने यात्रा मात्र थिएन । त्यो यात्रामा सपना थिए, बाध्यता थिए, विज्ञानको चमत्कार थियो, प्रवासको पीडा थियो, अनि मानिसहरूको अनगिन्ती कथाहरू थिए ।
नेवा:देखि नेवार्कसम्मको त्यो यात्रा आज पनि स्मृतिमा उत्तिकै जीवित छ ।

