एउटै घटनालाई पात्र, समाज, लेखक र चेतनाले फरकफरक देख्दछ । त्यसैले लेखन अनेक दृष्टिकोणको खेल हो । एउटा सत्यमा पनि टुक्राहरूको संयोजनात्मक संरचना हुन्छ ।
इबराको घोषणा—पत्रको ७ औँ सूत्रको विचारलाई साहित्यिक चिरफार गर्दा पाइयो ।
चार कठपुतली खेलहरू हाराहारी चार भिन्न ‘लेखक’ले लेखेका छन्: खेलहरूका निर्देशक लेखक, परालको आगो कथा लेख्ने लेखक, चामेको निर्धूम अग्नि शून्यमन नियाल्ने लेखक, कठपुतली बनेको वस्तुको अनुभव गम्ने लेखक । बहुदृष्टिले लेखनको सम्भावना र सिद्धान्त हुन्छ यहाँ ।
इबराको कुरामा मेरा कुरा:
अर्थ: यसको मूल आशय लेखकले लेखन दृष्टिकोणलाई एउटै स्थिर केन्द्रबाट नहेरी बहुदृष्टिमा हेरिएको छ । जस्तो— चार कठपुतलीका खेलहरू भन्नाले एउटा कठपुतलीलाई चार फरक फरक लेखकीय दृष्टिकोणमा लेखिएको छ । कठपुतली स्वतन्त्र अस्तित्व होइन तथापि यो बाह्य अनुभव, दृष्टि, भाषा र चेतनाबाट चलिरहेको छ । लीला दर्शनमा मानिस पनि एक कठपुतली सरह खेलमा सहभागी भइरहेको हुन्छ निमित्त बनेर ।
चार खेल भनेको एउटा कठपुतलीलाई चार दृष्टिकोणले खेलाइएको छ । खेलाउने निर्देशक लेखकीय दृष्टिकोण हो भने खेल्ने पात्र कठपुतली । जुन दृष्टिकोणले लेखन कार्य गर्यो पात्रहरू उसरी नै चल्नेछन् । “कठपुतलीको मन”मा पनि कथालाई चार अलग अलग दृष्टिकोणमा लेखिएको छ । यहाँ ४ एक प्रतिनिधि सङ्ख्या हो तर ५, ६, ७ वा त्योभन्दा बढी दृष्टिकोणमा पनि एउटै घटनाको वर्णन गर्न सकिन्छ भन्ने यसको मूल उद्देश्य हो ।
हाराहारीका चार लेखक
‘कठपुतलीको मन’ कथा लेख्ने लेखकका चार दृष्टिकोणलाई ४ हाराहारीका लेखक हुन् भनिएको हो । अर्को शब्दमा एउटा कथालाई चार दृष्टिकोणमा लेख्ने लेखकीय चेतनालाई ४ लेखक भनिएको हो । ४ दृष्टिकोण भनेकै ४ लेखक हुन् अथवा ४ दृष्टिकोण नै ४ लेखक हुन् ।
ती ४ लेखकहरूमा
लेखक–१ः खेलहरूको निर्देशक
यो कथाको पहिलो दृष्टिकोण हो । खेलको निर्देशक भनेको कुनै घटनापछाडिको अदृश्य शक्ति हो, जसले घटनाको सिर्जना गर्दछ नियति जस्तो बनेर अनि पात्रहरूलाई खेलाउँछ । रङ्गमञ्चमा निर्देशकले पात्रहरूलाई निर्देशन गरे जस्तो गर्ने लेखक खेलहरूको निर्देशक हो जसले घटना र त्यसको संरचना निर्माण गर्दछ तर आफैँ चाहिँ पात्रको रूपमा देखिँदैन । यसले खेलमा पात्रको भूमिका र दृष्टिकोण प्रस्तुत गर्दछ । मानिस आफैँमा एउटा कठपुतली हो र यसलाई नचाउने विभिन्न निर्देशक छन् पर्दापछाडि । यही यसको विशेषता हो । जीवनजगतलाई हेर्दा यो बाहिरी सृष्टिकर्ता हो । लेखनमा लेखक हो ।
लेखक–२ः परालको आगो कथाका लेखक गुरुप्रसाद मैनाली
कठपुतलीको मन गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’को विनिर्माण हो । यसकारण दोस्रो लेखक मूल कथाकार हुन् जसले परालको आगो भन्ने प्रसिद्ध सामाजिक कथा लेखे । यो कथामा लेखक चामे, गौँथली, जुठे, जुठेकी श्रीमती, गाउँघर, भैँसी गोठ, कृषि कार्य, गाउँको बिहे जस्ता यथार्थपरक सामाजिक घटना र पात्रलाई उभ्याई एक संरचना निर्माण गरी त्यसको कथा बनाउँछ । यहाँ लेखकले सामाजिक यथार्थ र चरित्रको चित्रण गरेका छन् । लीलालेखन पनि यही सामाजिक यथार्थवादी बाटो हुँदै अगाडि जाने हो ।
लेखक–३ः चामेका निर्धूम अग्नि शून्यमय नियाल्ने लेखक
यो कथाको मुख्य दार्शनिक भाग हो । यसमा लेखक कथाको मुख्य पात्र चामेलाई साक्षीस्वरूपमा घटना र पात्रको अवलोकन गर्दछ । त्यो लेखक शून्यवादी, अन्तर्यामी र ध्यानस्थ दृष्टिले चामेलाई हेर्छ । ‘निर्धूम अग्नि’ भनेको धुँवारहित आगो हो भने ‘शून्यमय आगो नियाल्नु’को अर्थ तटस्थ चेतना लिएर घटनाहरूको उत्पत्ति र विस्तारको क्रमलाई मौन चेतनाले निष्पक्ष हेर्नु हो । तसर्थ, कठपुतलीको मनको तेस्रो लेखक चामेको जीवनलाई विनाआग्रह निर्धूम अग्नि झैं शून्यताबाट हेर्दछ । लेखकले आफैँ शून्यताबाट घटनालाई वस्तुगत र आत्मगत निरपेक्ष भई निष्काम तरिकाले टाढाबाट चामेको नियतिलाई हेर्दछ । लेखक यहाँ द्रष्टा मात्र छ । निर्णयकर्ता हुँदै हुँदैन ।
उदाहरण— १ ससुरालीबाट गौँथलीलाई फर्काएर घरतिर आउँदै गरेको चामेको लुगा कपडा र गौँथलीको भेषभूषाको वर्णन छ । बाटोमा हिँड्दै गर्दा चामेले सोध्छ, “म लिन नआएको भए ?” गौँथली जवाफमै प्रश्न सोध्छे, “आउने मन थिएन ?”
(लेखक यी दुई संवाद बीचमा निर्धूम शून्यता देख्छ । चामे अघिल्तिर हेरिरहेको छ, उसका जीउका अङ्गहरू काठ जस्ता छन् । चामेलाई लिन जान मन लागेको र गौँथलीलाई लिन आइदिए हुन्थ्यो भन्ने भाव पनि यहाँ लेखकले देखेका छन् ।)
उदाहरण— २ आफ्नो दुई हातले गौँथलीको कुम समाउँछ र भन्छ: तेरै मायाले ल्यायो मलाई ।
(यस भनाइमा लेखक चामेको आखाँमा सल्केको आगो र गौँथली माइत हिँडेपछि चामेका दुई हात खसेको दृश्य देख्छ । अगाडि बढ्दा देवीथानमा उभिएर दुवैले जुम्ल्याहा हात गरेर आस्था प्रकट गरेको र त्यस आस्थाभित्रको कामना देख्छ ।)
उदाहरण— ३ बाटोमा गौँथली चामेलाई सोध्छे, “आजकल भैँसीको दूध कति छ नि ?” चामे निरुत्तर हिँडिरहन्छ । गौँथली पुनः प्रश्न गर्छे, “हँ … कति छ भैँसीको दूध ?”
(लेखक यहाँ चामेको निरुत्तर हिँडाइमा हजारौँ भाव देख्छन् । गौँथलीको प्रश्नको जवाफको साटो ऊ गौँथलीको सान्निध्ताको आनन्द, गौँथलीसँग सहवासको कल्पना देख्छ ।)
चामे जवाफी प्रश्न सोध्छ, “मेरो हाल चैँ सोध्नुछैन ? माया त भैँसीको पो लागेको ?”
(यहाँ लेखक देख्छ— गौँथलीको कानको फुली, काँधको मजेत्रो, नाकको ढुंग्री, निधारको टीका जम्मै चम्केको छ ।)
गौँथली जवाफी प्रश्न सोध्छे, “भैँसी कसको ?”
(लेखक यहाँ गौँथलीको उत्तरमा प्रिती आगोमा प्रितीकै दाउरा थपेको देख्छन् । भैँसी नै चामेको भइदिएपछि भैँसीको हाल सोध्नु नै चामेको हाल सोध्नु बराबर हो । यसैलाई पिर्तीको आगोमा पिर्तीको दाउरा थपेको भनेको हो ।)
ब्रह्माण्डीय दृष्टिकोणमा हेर्दा:
बाह्य जीवन जगतका सन्दर्भमा यसलाई हेर्दा ब्रह्माण्ड पनि एक निर्धूम अग्निमय छ । अग्नि तर धुवाँरहित, यसको अर्थ विविध हुन सक्छ । आगाको ज्वाला देखिन्छ तर धुवाँ छैन, केवल आभास हुन्छ । अर्थात् ब्रह्माण्ड शून्य छ । जसरी घाम लाग्या बेला सडकमा पानीपोखरीको मृगमरीचिका देखिन्छ तर त्यहाँ पानी नभै केवल पानीको आभास मात्र हुन्छ, त्यसरी नै यो संसार पनि एक आभास मात्र हो । यहाँ शून्यता छ । यो विचार बौद्ध र अद्वैत–वेदान्त दर्शनसँग मिल्दछ ।
लेखक–४ः कठपुतली बनेका वस्तुको अनुभव गम्ने लेखक
यो विकथाको चौथो लेखकीय दृष्टिकोण हो । चौथो लेखकले कठपुतली पात्र भई खेलिरहँदा उसको अनुभूति कस्तो होला ? भनेर कठपुतलीको मनोविज्ञान, त्यसको अनुभव र सुख–दुःखको बारेमा विश्लेषण गरी कथा लेख्दछ । यसमा लेखक स्वयम् पात्र भई कथाभित्र छिरेर आफू कठपुतली झैं बनी त्यसको यथार्थ अनुभूति गर्ने प्रयास गर्दछ । हर मानिस निमित्त हुन् र कसैद्वारा निर्देशित छन् । तसर्थ, मानिसहरू कुनै न कुनै प्रकारले कठपुतली नै हुन् । चौथो दृष्टिकोणमा कथाकार कथाको भावमा अवतरण भई पात्र बनेर खेल्ने भूमिका–निवारकको मनस्थितिको विश्लेषण, उसको अनुभव र अनुभूतिलाई समेटेर चौथो विकथा लेखिएको छ ‘कठपुतलीको मन’मा । यहाँ लेखकले आफू पात्र बनेर आफ्नो होइन, पात्रको अनुभव लेख्दछन् । कथाकारले घटनाको आत्मपरक अनुभूति गर्दछन् ।
जीवनजगतसँग यसलाई जोडेर हेर्ने हो भने यो लेखक स्वयमको अनुभव हो । आफू एक कठपुतली मात्र बनेको अनुभव गर्दछ चौथो लेखकले । आफू प्रत्यक्ष खेलमा सहभागी भएको छ अर्काको अधीनमा । यसबाट लेखक–पात्रले लीला–खेलभित्र सत्य र भ्रम जस्ता अनुभूतिजन्य कुराको साक्षात्कार गरी त्यसैको लेखन गर्दछ ।
बहुदृष्टिले लेखनको सम्भावना र सिद्धान्त हुन्छ यहाँ बहुदृष्टि, बहुआयाम, बहुलता लीला–लेखनको मुख्य चुरो हो । लेखन एउटै बिन्दुबाट आउँदैन, यो अनेक कोणबाट आउँछ । जब वस्तु बहुआयामिक हुन्छ भने लेखन पनि बहुदृष्टिकोणीय हुन्छ जो स्वभाविक छ । एउटै घटनालाई पात्र, समाज, लेखक र चेतनाले फरक फरक देख्दछ । त्यसैले लेखन अनेक दृष्टिकोणको खेल हो । एउटा सत्यमा पनि टुक्राहरूको संयोजनात्मक संरचना हुन्छ । एउटै कथामा धेरै लेखक, धेरै अनुभव, धेरै दृष्टिकोण, धेरै अर्थ हुन्छन् । लीला सिद्धान्तले लेखकलाई सर्वज्ञ मान्दैन । लेखकको दृष्टिकोण उसको दृष्टिकोण हो, पाठकीय दृष्टिकोण पाठकहरूसँगै सुरक्षित रहन्छ । सिद्धान्त के हो भने लीलादृष्टिमा, लेखन सम्पन्न भएपछि लेखकको मृत्यु हुन्छ, उसको दृष्टिकोण मात्र जीवित रहन्छ पाठकहरूको दृष्टिकोणको समानान्तमा ।
लीलालेखनमा
यस बुँदाको मुख्य उद्देश्य नै घटनामा बहुदृष्टिकोण राख्नु हो । एक दृष्टिकोण भयो भने त्यो एकाकी हुन्छ । त्यसैले साहित्यलेखन एकालापी हुनुहुँदैन, बहुदृष्टिकोणीय हुनुपर्छ भन्ने चिन्तन राख्दछ लीलालेखनले । एउटा घटनामा एउटै पात्र, एउटै दृष्टिकोण, एउटै अर्थ हुँदैन । यो लीलाबोधी विचार भएकोले हरक्षण परिवर्तनको गुन्जाइस रहन्छ । अनेक दृष्टिबाट कथाहरू आउँछन्, अनि धेरै लेखकका धेरै अनुभव र धेरै अर्थ हुन्छन् ।
मिथक तथा कथाहरू स्थिर तत्व होइनन्, ती नखुलेका पोकाहरू हुन् । पोकाहरू जतिजति खुल्दै जान्छन्, लीला नै हुन्छन् । लेखकले तिनलाई लेख्छ तर लेखकसँग लेखकीय दृष्टिकोण मात्र हुन्छ । यथार्थको अन्तिम–ज्ञाता लेखक होइन, पाठक पनि होइन । उनीहरू द्रष्टा भावले हेर्ने हुन् । दुवै लीलाका सहभागी हुन् । जसरी कठपुतली स्वतन्त्र छैन, मानिस र लेखक पनि स्वतन्त्र छैन । मानिस समाज, धर्म, अर्थ, भाषा, अनुभूति, परिस्थिति, चेतना आदिद्वारा परिचालित हुन्छ । मानिस जसलाई यथार्थ ठान्दछ, त्यो केवल मिथ्या, एक लीला मात्र देखाउँछ ।

