एक दिन
सँगै बग्न नसकेर मैले
नदीसँगको प्रेमिल यात्रा टुङ्ग्याएँ
र चुपचाप
उजाड बगरको ढुङ्गाझैँ
किनारामा आफूलाई थन्काएँ ।

त्यो निर्णय
सायद पलायन थियो,
सायद थकान,
वा आफ्नै असमर्थतासँग
हार खाएको एउटा मौन स्वीकारोक्ति ।

निःशब्द नदी भने
आघातका नीला डामहरू बोकेर
एक्लै बगिरह्यो ।
उसको बहावमा
पीडाका असंख्य छालहरू थिए,
तर उसले कहिल्यै
आफ्नो वेदनाको आवाज उठाएन ।

सायद उसलाई
समुद्रसम्म पुग्नुको बाध्यता थियो,
वा आफूलाई हराएर भए पनि
कुनै विशाल अस्तित्वमा
समाहित हुनुपर्ने नियति ।

म भने
किनाराको निर्जीव ढुङ्गाझैँ
समयको घामपानी सहँदै
स्थिर रहिरहेँ ।
बाहिरबाट कठोर देखिए पनि
भित्रभित्रै
अनगिन्ती चिराहरूमा
उसकै सम्झनाको पानी जमिरह्यो ।

स्मृतिका अक्षरहरू
समयको ‘डस्टर’ले पनि
मेट्न नसक्दा रहेछन् ।
बरु वर्षौंको दूरीले
ती झन् गाढा भएर फर्किए,
जसरी पुरानो घाउ
मौसम फेरिँदा फेरि बल्झिन्छ ।

न त छोप्न सके
थकित अनुहारका यी धर्साहरूले
मनभित्रका अधुरा कथाहरू ।
आँखाको गहिराइमा अझै
उसको अनुपस्थितिको धुवाँ बाँकी छ ।

वर्षौँपछि आज पनि
सम्झनाको सुनसान पगडण्डीमा
उसको नाम
कोइलीको उदास भाकासँगै
साँझभरि गुञ्जिरहन्छ ।

कहिलेकाहीँ लाग्छ,
प्रेम समाप्त हुँदैन,
मानिसहरू मात्रै
एकअर्काको यात्राबाट छुट्टिन्छन् ।

र यो बेला म
मृत प्रेमको खरानी बोकेर
आफ्नै असक्षमताको चिहानछेउ
मौन शोक मनाइरहेछु ।

जहाँ शब्दहरू पनि थाकेका छन्,
र आँसुहरूले समेत
बहन छोडिसकेका छन् ।

केवल एउटा अधुरो नदी
मनभित्र कतै अझै बगिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय